newskoseli.Com

रत्नपार्कमा आयोजना भयो ‘काग सम्मेलन’ !

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन कागतिहारमा सोमबार ‘काग सम्मेलन’ आयोजना गरियो ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको ‘काग सम्मेलन’ मा १ सय ७३ जीव–जनावर तथा चरा–चुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा करिव ३ सय वटा काग बोलाएर ‘१५औं काग सम्मेलन’ गरे ।

दुलालले विगत १४ वर्षदेखि तिहारको अवसरमा काग तिहारकै दिन ‘काग सम्मेलन’ गर्दै आएका छन् । ‘मैले संविधान नबन्दा काग बोलाएर नयाँ बानेश्वरस्थित संसद् भवन र अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गरेको छु, भारतले नेपालमा नाकाबन्दी गर्दा भारतीय राजदूतावासको ढोका अगाडि काग बोलाएर विरोध गरेको छु’– दुलालले भने ।

दुलालले कागबाहेक मादल, सनाइँ, सारङ्गी, पियानो, ड्रमसेट, मुर्चुङ्गा, गितारको धुन समेत मुखैले निकाल्छन् । गाई, भैंसी र अन्य चरा–चुरुङ्गीको आवाज पनि उनले दुरुस्तै सुनाउँदै आएका छन् ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा कागतिहार मनाइन्छ । यस दिन कागलाई मीठा खाने कुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर