newskoseli.Com

ओलीजीसँग भिजन र संकल्प छ, विकल्प सोच्नै सकिन्न : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने जिकिर गरेका छन् ।

‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न, यो सरकारले काम गरेर देखाउँछ,’ रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको देउसी–भैलो कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने– ‘मैले प्रधानमन्त्रीसँग पटक–पटक कुरा गरेको छु, उहाँमा आत्मविश्वास छ र मसँग उहाँले कमिटमेन्ट पनि गर्नुभएको छ ।’

‘प्रधानमन्त्रीसँग मैले भनेको छु– हामी छौं कमीकमजोरीको आलोचना गर्न, तपाईं ढुक्क भएर सरकार सञ्चालन गर्नुहोस्,’ नेता नेपालले भने– ‘यदि कमीकमजोरीहरु भएका छन् भने सुधार गरेर जानुपर्छ ।’

वर्तमान सरकार भ्रष्टाचार अन्त्य गर्न सफल हुने दाबी नेता नेपालले गरे । ‘केपी ओलीको सरकार भनेको नेकपाको सरकार हो, कम्युनिस्ट पार्टीको सरकार हो र यसको अगुवाई ओलीजीले गर्नुभएको छ,’  उनले भने– ‘यो सरकार असफल भयो भने सिंगो पार्टी असफल भएको देखिन्छ ।’

‘यो सरकारसँग भिजन छ, संकल्प छ र यसले आफ्ना प्राथमिकताहरु निर्धारण गरेको छ,’ नेता नेपालले विश्वास प्रकट गरे– ‘भएका साधन–स्रोतको उपयोग कसरी गर्ने भन्ने पनि प्रधानमन्त्रीजीसँग स्पष्ट सोच छ ।’

अब कर्मचारीतन्त्रलाई पनि प्रधानमन्त्रीले त्यही ढंगले परिचालन गर्नुपर्ने धारणा राख्दै उनले भने– ‘मन्त्रीहरुलाई परिचालन गर्न पार्टी बलियो हुनुपर्छ, पार्टीले सबै ठाउँमा आफ्नो ध्यान दिनुपर्छ र आफ्नो पार्टीका गतिविधिहरुलाई निरीक्षण गर्नुपर्छ, अनुगमन गर्नुपर्छ ।’

उनले अगाडि भने– ‘सरकारका कामको पनि अनुगमन गर्नुपर्छ र निर्माण व्यवसायीहरुले काम गरिरहेका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्छ अनि राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ ।’

प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थायी समिति बैठक बस्न नसकेको प्रष्टीकरण समेत नेता नेपालले दिए । ‘सचिवालय र स्थायी समिति बैठक बस्ने योजना थियो तर, उहाँ एक्कासि बिरामी हुनुभयो,’ उनले भने– ‘अब उहाँ आराम गरी फिट भएर आएपछि बैठक बस्छ र पार्टी तथा सरकार दुवैतिरको गत्यावरोध समाप्त हुन्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर