newskoseli.Com

नेपाल सम्बत् ११३९ सुरु, किन गरिन्छ म्हः पूजा ?

बिहीबार देशभर विविध कार्यक्रम गरी नेपाल सम्बत् ११३९ मनाइँदैछ । यस सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरुआत गराएका थिए । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको जानकारी लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले दिए ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्बत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्बतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्बत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्बत् हो’– उनले भने ।

वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल सम्बतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाउँदै आइएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा विशेष रुपले मनाउने गरिन्छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्बत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ को नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

वि।सं। २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सम्बतलार्इ राष्ट्रिय मान्यता दिलाइएको घोषणा गरेका थिए ।
काठमाडौंमा कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने समेत छ परम्परा ।

म्हः (आत्म) पूजा

नेपाल सम्बतको नयाँ वर्ष सुरुआतकै दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरुले आफ्नै (म्हः) पूजा गरी पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गरी आफू र आफ्नो आत्मा समेतको पूजा गर्ने परम्परा शास्त्रीय विधि भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

आत्मसन्तुष्टि भएर आफैंलाई खुशी राख्न सके देवी–देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन पनि सार्थक हुने धार्मिक विश्वास छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर