newskoseli.Com

पूर्वमन्त्री कांग्रेस नेताले भने : ओली सरकारको विरोध औचित्यहीन, ढुक्कले काम गर्न दिनुपर्छ

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

‘कांग्रेसले अहिले ओली सरकारको विरोध गर्नुहुँदैन,’ उनले भनेका छन्– ‘यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ठूलो ‘फ्यान’ रहेको समेत उनले बताएका छन् । ‘उहाँ मेरो ‘फ्यान’ हो,’ उनले भने– ‘म पनि ओलीको ‘फ्यान’ हुँ ।’

रिपोर्टर्स क्लब नेपालले बुधबार राति आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्री गुरुङले यी अभिव्यक्ति दिएका हुन् । ‘ओलीजीसँग स्पष्ट भिजन छ, उहाँसँग विकास र समृद्धिको खाका छ । उहाँले रेल र पानीजहाज दुवै चलाउनुहुन्छ । म उहाँले गरेको कामको उच्च मूल्यांकन गर्छु,’ प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका उनले भने– ‘विकास र समृद्धितर्फ मुलुक अघि बढ्नुपर्छ र भ्रष्टाचार अन्त्य हुनुपर्छ, यसमा ओली सफल हुनुपर्छ ।’

वर्तमान श्रममन्त्री गोकर्ण विष्टले पनि राम्रो काम गरेको भन्दै उनले प्रशंसा गरे । मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्ने काम गरेको भन्दै गुरुङले विष्टको खुलेर प्रशंसा गरे । ‘मैले सुरु गरेका कतिपय कामहरु पूरा भएका थिएनन् तर उहाँले गरेर देखाउनुभयो,’ उनले भने– ‘मैलेभन्दा उहाँले राम्रो काम गर्नुभयो ।’

पूर्वमन्त्री गुरुङले नेपाली कांग्रेस अब एकढिक्का भएर अघि बढ्ने विश्वास दिलाए । ‘अब अनेकता पनि एकतामा परिणत हुन्छ, गुट–उपगुट अन्त्य हुन्छ । सभापति देउवाजी र वरिष्ठ नेता पौडेलजीबीच अब कुरा मिल्छ । यसमा कुनै शंका छैन,’ गुरुङले भने– ‘मुलुक समृद्धितर्फ अघि बढिरहेको छ, अब हाम्रो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर