newskoseli.Com

जङ्गली हात्तीले भत्काइदिए घर, ३ परिवारको बिचल्ली

तिहारको भाइटीकाकै दिन बेदकोट नगरपापलिका– १०, कञ्चनपुर, रानादैजीका तीन जनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ ।

बिहीबार राति शिवराज राना, खेमराज राना, प्रेमसिंह रानालगायत तीन जनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्कार्इ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतका सबै अन्न खाएको छ । लुगा, कागजपत्र बाकस, ग्यास सिलिण्डर, दराज, पङ्खा, टिभीलगायतका सामग्री समेत पूरै हात्तीले तोडफोड गरेको छ ।

घर नजिक लगाइएको तरकारी समेत नष्ट गर्नुका साथै खानेपानीका लागि गाडिएको नल्का समेत हात्तीको झुण्डले उखेलेको छ । राति १२ बजे २० भन्दा बढी हात्तीको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट वस्ती छिरेको हो । हात्तीको झुण्डले घर भत्काउन थालेपछि आफूहरू ज्यान जोगाउन बालबालिकासहित घर छाडेर भागेको शिवराज रानाले बताए ।

‘बिहान घरमा पुग्दा घर भत्काइएको थियो,’ उनले भने– ‘घरभित्र राखेको सबै अन्न खाइदियो, लुगाफाटो समेत च्यातचुत पारेर विचल्लीमा पारेको छ ।’ उनले भने– ‘ज्यान त बल्लतल्ल जोगायौं, घर जोगाउन सकिएन ।’

अन्नपात सबै हात्तीले खाइदिएपछि बिहान छिमेकीले दिएको खाना खाएर बसेको अर्का पीडित खेमराज रानाले बताए । उनले भने– ‘हात्तीले बिजोग पार्‍यो, खाना समेत अरुबाटै मागेर खानु परेको छ ।’ खेतमा धान छँदा त्यहीं खाइदिएर नोक्सान गराउँदै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्न समेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका सदस्य लालबहादुर खड्काले हात्तीले घर भत्काएका परिवारको अवस्था र क्षतिबारे शुक्रबार बिहान जानकारी लिए । उनका अनुसार हात्तीको झुण्डले तीन वटै परिवारको अन्न सबै खाएर र घरभित्र राखेको लुगाफाटो समेत नष्ट गरेको छ । खड्काले भने– ‘हात्तीपीडित परिवारको अवस्था निकै नाजुक छ, तत्काल राहत र बस्ने व्यवस्था मिलाउन पहल भइरहेको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर