newskoseli.Com

३ जिल्ला जोड्ने ८.५ किलोमिटर केबलकार : ३० प्रतिशत शेयर प्रभावितलाई

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबलकार निर्माण हुने भएको छ ।

प्रदेश नं. ४ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुन लागेको केबलकारमा स्थानीयवासीले ३ अर्ब रुपैयाँको शेयर अधिकार पाउने भएका छन् । घाँटीछिनाबाट पञ्चासेसम्मको केबलकारको दुरी झन्डै ८.५ किलोमिटर हुने भएको छ ।

यसको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएकामा ३० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउने भएका छन् । पञ्चासेको प्रभावित क्षेत्र पर्वतको मोदी गाउँपलिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले शेयर अधिकार पाउने भएका हुन् ।

पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका– २३, घाँटीछिनाबाट केबलकार निर्माण हुन लागेको हो । २ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल्स कम्पनी, बन्दीपुर केबलकार प्रालि र आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडले केबलकार निर्माणको प्रक्रिया अघि बढाएका हसनु ।

अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको भदौरेसम्म सवारी साधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तै, पर्वततर्फबाट चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधनमा र त्यसपछि ३ देखि ४ घन्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ ।

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रवर्द्धन गर्नका लागि केबलकार निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । केबलकार निर्माणका लागि विस्तृत सर्वेक्षणको काम भइसकेको जानकारी निर्माण कम्पनीले दिएको छ ।

निर्माण कम्पनीले दिएको जानकारी अनुसार पञ्चासेसम्म पुग्ने केबलकारको निर्माण ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर