newskoseli.Com

प्रचण्ड र बादलले के–के गरे म्याग्दीमा ? तातोपानीमा पौडिएर फर्किए राजधानी

पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बुधबार साँझ राजधानी फर्किएका छन् ।

म्याग्दीमा रहँदा मंगलबार उनीहरुले सहिद परिवारसँग भेटघाट गरे । अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल मङ्गला गाउँपालिका– २, सिमलचौर पुगेर सहिद परिवारकी गुमाकुमारी खड्काको परिवारसँग भेटघाट गरेका हुन् । माओवादी जनयुद्धमा होमिएर परिवारका दुई सदस्य गुमाएकी ५५ वर्षीया खड्काले पहिलो पटक प्रचण्ड र बादललाई भेट्न पाइन्, त्यो पनि आफ्नै गाउँमा मात्र होइन, आफ्नै घरमा ।

पत्नी सीता दाहालको नशासम्बन्धी रोगको तातोपानी कुण्डमा स्नान गरी उपचार गर्न म्याग्दी पुगेका दाहाल र कुण्डमै स्नानका लागि पारिवारिक भ्रमणमा पुगेका थापा सहिद परिवारको घरैमा पुगेका हुन् । गुमाका पति नन्दबहादुर खड्कालाई २०५९ भदौ २ मा म्याग्दीकै कुहुँमा र उनकी छोरी सिर्जनालाई २०५८ चैत १३ मा शिखमा गिरफ्तार गरी तत्कालीन राज्य पक्षबाट हत्या गरिएको थियो ।

‘जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौं, मुलुक सङ्घीय गणतन्त्रमा रुपान्तरण भयो, परिवर्तनका लागि नेतृत्व गर्ने नेतालाई पहिलो पटक भेट्न पाउँदा खुशी लाग्यो,’ खड्काले भनिन्– ‘नेताहरूले अब जनताका लागि विकास दिन सक्नुपर्छ ।’

‘हामीमाँझ सहिद परिवारका सदस्य पनि हुनुहुन्छ, परिवर्तनका निम्ति उहाँहरुको योगदान अतुलनीय छ, हामी परिवर्तनलाई संस्थागत गरेरै अगाडि बढ्छौँ’ अध्यक्ष प्रचण्डले भने । लामो सङ्घर्ष र बलिदानले मात्रै स्थानीय, प्रदेश तथा सङ्घीय गरी तीन तहको सरकारको परिकल्पनाले सार्थकता पाएको उनले बताए ।

‘अब चाँडै टुंगिन्छ पार्टी एकता’

अध्यक्ष प्रचण्डले अब चाँडै नै पार्टी एकता टुंगिने बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब बस्ने बैठकले प्रदेश, जिल्ला र स्थानीय तहसम्म एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको बताए ।

‘पार्टी सङ्गठनदेखि जनवर्गीय सङ्गठनको एकताबारे गृहकार्य सकिएको छ अब केही दिनमै पार्टी एकताको प्रक्रियाले नतिजा ल्याउँछ, एकताबाट दायाँबायाँ गर्नसक्ने कुनै ठाउँ छैन’– उनले भने । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको मुस्ताङ र चीनको सीमानामा पर्ने कोरला नाकालाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन पूर्वाधार निर्माणसँगै सरकार तथा पार्टीका तर्फबाट समेत कूटनीतिक पहल भइरहेको अध्यक्ष दाहालले बताए ।

यसअघि अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै समाजवादको बाटोमा पार्टी अघि बढ्ने र सरकारका कामकारबाही त्यसै दिशामा उन्मूख हुने चर्चा उनले गरे । म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा राज्य र व्यवसायीले एक–अर्कालाई आफ्नो पूरक मान्ने वातावरण सिर्जना गरी उद्योग–व्यवसायका क्षेत्रमा बनेका पुराना ऐन संशोधन गर्न आवश्यक रहेकामा प्रचण्डले जोड दिए ।

मुलुकको अबको यात्रा आर्थिक विकास, समृद्धि र सुशासन कायम गर्नमा केन्द्रित हुने बताउँदै स्वदेशमै रोजगारी सिर्जना हुनेगरी लगानी गर्न गृहमन्त्री थापाले उद्योगी व्यवसायीलाई आग्रह गरे । सोमबार म्याग्दी पुगेका अध्यक्ष दाहाल र गृहमन्त्री थापा बुधबार काठमाडौं फर्किएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर