newskoseli.Com

टेलिकमले ल्यायो नयाँ ‘एप’ : के–के छन् यसका सुविधा र विशेषता ?

नेपाल टेलिकमले आफ्नो ‘नेपाल टेलिकम’ नामक मोबाइल ‘एप’ लाई परिमार्जन गरी नयाँ स्वरूपमा प्रस्तुत गरेको छ ।

नयाँ ‘एप’ मार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएललगायतका सेवाबारे जानकारी प्राप्त गर्न सकिने जानकारी टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले दिइन् । पछिल्लो समयमा विभिन्न प्रकारका ‘प्याकेज’ खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद यो ‘एप’ बाट सहज हुने टेलिकमको भनाइ छ ।

यो ‘एप’ मा ‘लग–इन’ गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिनेछ । विभिन्न सेवाका लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्न समेत यसबाट सहज हुनेछ । ‘पिनकोड’ राखेर वा रिचार्ज कार्ड स्क्यान (स्क्यान एन्ड्रोइडमा मात्र) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।

यो ‘एप’ मार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमका कुनै अरु मोबाइलमा समेत विभिन्न प्याकेज गिफ्ट (उपहार) दिन सकिने छ । यही ‘एप’ मार्फत कम्पनीका विभिन्न सेवाको बिल समेत रिचार्ज कार्डबाटै भुक्तानी पनि सकिनेछ । कम्पनीको फेसबुकलगायतका सोसल मिडिया समेत यसै ‘एप’ बाट प्रयोग गर्न सकिनेछ ।

प्रवक्ता वैद्यका अनुसार यस ‘एप’ बाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाबारे सोधपुछ समेत गर्न पाइने छ । कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुल दरबारे पनि जानकारी लिन सकिने व्यवस्था यसै ‘एप’ मा गरिएको छ ।

‘गुगल प्ले स्टोर’ तथा एप्पलको ‘एप्स स्टोर’ बाट ‘नेपाल टेलिकम’ नामक ‘एप’ लाई ‘डाउनलोड’ गरेर नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिस्टर गरेपछि यो ‘एप’ चलाउन सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर