newskoseli.Com

वस्ती र सहरमा गैंडा–आतंक : स्थानीयवासी सन्त्रस्त !

चितवन राष्ट्रिय निकुञ्जका एकसिङे गैंडा नजिकैका वस्तीसँगै सहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । गैंडा नियमितजसो वस्तीमा आउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

निकुञ्जमा गैंडाको संख्या बढेसँगै वासस्थानको समस्याले ती गैंडा वस्ती पसेको अनुमान गरिएको छ । चितवनको प्रमुख सहर नारायणगढ बजारको बेलचोक र बाह्रघरे क्षेत्रमा रातको समयमा नियमितजसो गैंडा आउने गर्दछन् । स्थानीय पत्रकार रमेशकुमार पौडेलका अनुसार तिहारका केही दिन पटाका पड्कँदा गैंडा नदेखिए पनि अन्य समयमा राति र बिहान आउने गरेका छन् । एउटा बच्चा र दुई ठूला गैंडा देखिने गरेको उनले बताए ।

सो क्षेत्रमा लगाइएको आलु, धानजस्ता बाली खान गैंडा आउने गरेको उनले बताए । जसका कारण बिहान सबेरै र राति अबेर हिँडडुल गर्न समस्या भएको छ । तीन वर्षयता नजिकैका क्षेत्रमा गैंडाको आक्रमणबाट दुईको मृत्यु भइसकेको छ ।

सौराहा क्षेत्रमा पनि गैंडा नियमित सहरी क्षेत्रमा पस्ने गरेको छ । सो क्षेत्रमा नियमित तीनवटा गैंडा आउने गरेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । पर्यटकीय हिसाबले यो राम्रो नभएको भन्दै निकुञ्जले वासस्थानको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

नारायणगढ, नवलपुरसहित निकुञ्जका पश्चिमी क्षेत्रमा समस्या देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । निकुञ्जभित्र घाँसेमैदान र आवश्यकता अनुसार अरु व्यवस्थापन हुन नसक्नु, घाँसेमैदानलाई माइकेनिया नामको अतिक्रमित झारले ढाक्नु, दलदल र पानीका स्रोत कम हुँदै जानुले गैंडा मानव वस्तीमा पसेको उनले बताए ।

वस्ती र निकुञ्ज एवं मध्यवर्ती क्षेत्रमा आवातजावत गर्न रोक्ने गरी बार लगाउन सके यो समस्या कम हुने उनले बताए । यससँगै निकुञ्जभित्र गैंडाको वासस्थान व्यवस्थापनमा विशेष सुधार गर्नुपर्ने उनको भनाइ छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको सङ्ख्या बढी र पूर्वमा कम भएको कारण पश्चिमी क्षेत्रमा बढी समस्या देखिएको छ । पश्चिमका गैंडा पूर्वमा स्थानान्तरण गर्ने तयारीमा पनि निकुञ्ज लागेको उनले बताए ।

घाँसेमैदान व्यवस्थापनको अभावमा गैंडा वस्ती पसेको निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल बताउँछन् । निकुञ्जभित्र आहारा र वासस्थान राम्रो नभएसम्म यो समस्या आइरहने उनले बताए । हालै मात्र नवलपुरको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा गैंडा आएर ३ जनालाई घाइते बनाएको र सवारी साधन तोडफोड गरेको जानकारी उनले दिए ।

वस्ती क्षेत्रमा गैंडा आउन थालेपछि स्थानीयवासीहरु मात्र होइन, गैंडा समेत जोखिममा परेको संरक्षणकर्मीहरू बताउँछन् । विगतका वर्षहरूमा चोरीशिकारीबाट गैंडा मारिएका छैनन् । पछिल्लो गणना अनुसार निकुञ्जमा ६०५ गैंडा छन् । निकुञ्जले यसै आर्थिक वर्षमा गैंडा गणनाको तयारी थालेको छ । यसअघि ४ वर्ष पहिले गैंडा गणना गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर