newskoseli.Com

सेनाले भन्यो : ‘विकृतजन्य अभ्यास हटाइन्छ’, सुरू गर्‍यो यस्तो विशेष कार्यक्रम

नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने–दिनेजस्ता विकृतिजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ ।

नेपाली सेनालाई आम नागरिकबीच आस्था र भरोसाको खम्बाका रुपमा विकास गर्न सैनिक मुख्यालयले मातहतका सबै संरचनामा यो कार्यक्रम कडाइका साथ तुरुन्त लागू गर्ने उदघोष गरेको हो । सेनाले सैनिक आचरणमा सुधार ल्याउन ‘संस्थाको अपेक्षा र मेरो जिम्मेवारी’ विषयमा जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरी अभियानका रुपमा उक्त कार्यक्रम अघि बढाउने अठोट गरेको छ ।

चैतसम्म चरणबद्ध रुपमा मातहतका निकायको तहसम्म उपहार लिने–दिने तथा आर्थिक अनियमितता र भनसुनविरुद्ध सङ्गठनले सचेतना कार्यक्रम गर्न लागेको जानकारी नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले दिए । सेनालाई व्यावसायिक फौजका रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढाइएको यो कार्यक्रमले सकल दर्जाबीचमा थप विश्वासको वातावरण सिर्जना गर्ने र सङ्गठनको छवि सुधार्न योगदान पुग्ने विश्वास सेनाले लिएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनभित्रका प्रत्येक तहका नेतृत्वले प्रस्तुत गर्ने विधि, व्यवहार र भूमिकाले राष्ट्रिय सुरक्षाको बलियो खम्बा र एकताका प्रतीकका रुपमा रहिआएको नेपाली सेनाका सकल दर्जालाई यस्ता कार्यक्रमले व्यावसायिक बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

नेपाली सेनालाई प्रणालीमा आधारित व्यावसायिक र सृदृढ सङ्गठनका रुपमा विकास गर्दै लैजान निःस्वार्थ रुपमा नीति–नियमको परिपालनामा जोड दिन पनि उनले निर्देशन दिए । यस्ता कार्यक्रमले सङ्गठनभित्र उठिरहेका अनेकौं खाले टीकाटिप्पणी र प्रश्नको जवाफ दिँदै जङ्गीअड्डा मातहतका कमान्डरलाई अनुशासित र व्यावसायिक बनाउन योगदान पुर्‍याउने सेनाको भनाइ छ ।

सङ्गठनभित्र रहेका अभ्यास र विगतका घटनाको समेत मूल्यांकन गरी सकारात्मक सन्देश प्रवाह नहुने खालका अभ्यासलाई हटाउन तहगत रुपमा गरिने नेतृत्व संवाद कार्यक्रम फलदायी हुने विश्वास सेनाले लिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर