धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करिव १० अर्ब रूपैयाँको लागतमा केबलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ ।
पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको हो ।
कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्त्वपूण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । जनतासँग छरिएर रहेको पुँजी सङ्कलित गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको यस परियोजनाले पर्यटन विकासमार्फत मध्यम वर्गीय जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने उनको भनाइ छ ।
पोखरा– २३ स्थित घाँटीछिनामा केबलकारको तल्लो स्टेशन राखिनेछ । यसको लम्बाइ ८.५ किलोमिटर रहनेछ । केबलकारमा ८० टावर रहनेछन् । एकै पटक २ हजार ४ सय यात्रु आउन–जान मिल्ने केबुलकारले दैनिक १० हजार मानिस बोक्न सक्ने क्षमता हुने शर्माले बताए ।
१० अर्ब रूपैयाँको योजनामध्ये ३ अर्ब केबुलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने सञ्चालक धनप्रसाद उपाध्यायले जानकारी दिए । ३ हजार रोपनी जग्गा भाडामा लिएर घाँटी छिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयवासीले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान रहनेछन् ।
पञ्चासेमा पर्यटक लैजानका लागि ६ वर्षमा बनाइसक्ने गरी केबुलकार निर्माण गरिने शर्माले बताए । विसं २०७६ साल माघमा शिलान्यास गरेर विसं २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने जानकारी उनले दिए । परियोजना सञ्चालनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको उनको भनाइ छ । रु दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका बासिन्दालाई रु तीन अर्ब बराबरको शेयर दिइने भएको छ ।
त्यसका अलावा कर्पोरेट, पत्रकार, वकिल, राष्ट्रसेवक कर्मचारीलगायत सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिने जनाइएको छ । अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घन्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ ।
पोखरालाई शैक्षिक गन्तव्य बनाइने
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई शैक्षिक गन्तव्य बनाइने उद्घोष गरेका छन् । विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको नेपालका लागि फिनल्याण्डका राजदूत प्रेती एन्टिनेनसहितको टोलीसँगको छलफल उनले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागिपरेको बताए ।
उनले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोतसाधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिने गरी काम अगाडि बढाएको बताए । कार्यक्रममा उपप्रमुख गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षाको जिम्मेवारी महानगरमा आएकाले शिक्षामा प्राथमिकता दिई योजनाबद्ध रुपमा काम गरिने बताए । शिक्षा महाशाखा प्रमुख आचार्यले शैक्षिक सत्र २०७६ देखि महानगरकाभित्रका विद्यालयका कक्षा कोठालाई धुलोमुक्त बनाएर सेतोपाटी राखिने तथा २११ सामुदायिक र १७८ संस्थागत विद्यालय भएको जानकारी दिएका थिए ।
छलफलमा राजदूत एन्टिनेनले योजनाबद्ध रुपमा काम गरेमा पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने बताए । राजदूतसहित १५ जनाको टोलीले पोखराका केही विद्यालयको भ्रमण समेत गरेको राससले जनाएको छ ।