newskoseli.Com

एकाबिहानै बस दुर्घटना : १ को मृत्यु १८ घाइते

मालिकार्जुनबाट दार्चुलाको सदरमुकाम खलङ्गा आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बिहीबार राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस शुक्रबार बिहान पौने ५ बजे दुर्घटना भएको हो । अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए ।

बस सडकबाट ३ सय मिटर तल खसेको थियो । बसमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । घाइतेहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए ।

बिहीबार राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो । घटनाको पूर्ण विवरण अझै आउन सकेको छैन । प्राप्त पछिल्लो जानकारी अनुसार दुर्घटनामा परी उत्तराखण्ड भारत अस्कोटका ४५ वर्षीय अनिल पालको मृत्यु भएको छ भने १८ जनाा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेहरुमा लेकम गाउँपालिका– ४, खरकडाकी २८ वर्षीया लक्ष्मी कुँवर, २५ वर्षीय दौलत कुँवर, २५ वर्षीया लक्ष्मी कँवर, मालिकार्जुन गाउँपालिका– ८ का १५ वर्षीय भुपेन्द्रसिंह धामी, २८ वर्षीय गणेशसिह धामी, लेकम गाउँपालिका– ४ का ३३ वर्षीय रामसिंह बस्नेत, जानकी बस्नेत, लेकम– ५ का ३२ वर्षीय नरेश बोहरा, मालिकार्जुन– ८ का नगेन्द्र पन्त, १३ वर्षीय लक्ष्मण पन्त, ३५ वर्षीय गोपालसिंह धामी र २४ वर्षीय चन्द्र पन्त रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, अपी हिमाल गाउँपालिका– ६ का २५ वर्षीय मङ्गल महता, मालिकार्जुन– ८ का रमेश धामी, ३० वर्षीय हिरेन्द्र धामी र मृतक अनिल पालकी श्रीमती घाइते भएको प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर