newskoseli.Com

बिहीबार बस दुर्घटना : ३ को मृत्यु, ४० घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– २ स्थित कमला पुल नजिकै बिहीबार राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।

घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका– ९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका– ९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको शुक्रबार बिहान मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिएका हुन् ।

साहको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चौधरीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । उक्त घटनामा यसअघि सर्लाहीको हरिपुर नगरपालिका– ९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको थियो ।

सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा पूर्णिमा स्नान अर्थात् भूतमेला भर्न सर्लाहीबाट आएका तीर्थालु चढेको ना ४ ख ४८२५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ३९४० नम्बरको मिनीट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी ४० भन्दा बढी यात्रु घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाका ३ जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर