newskoseli.Com

बिहीबारै अर्को दुर्घटना : १८ मृतकको सनाखत, २६ घाइते, ११ को अवस्था गम्भीर

डडेल्धुरा–डोटी जोड्ने डा. केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कुल बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ ।

ट्राफिक प्रहरी पोस्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा कैलालीको गोदावरी नगरपालिका– २ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका– १० की २० वर्षीया शारदा कडायत, डोटीको शिखर नगरपालिका– ७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका– ७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका– ८ की २२ वर्षीया शारदा रावत, कैलालीको धनगढी उपमहानगरपालिका– २८ का नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका– ४ की ३५ वर्षीया शशी विक, सोही नगरपालिका– ११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका– ८ का ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावलको सनाखत भएको छ ।

त्यसैगरी, डडेल्धुराको नवदुर्गा गाउँपालिका– ३ का २२ वर्षीय चक्र धामी, डोटीको शिखर नगरपालिका– १० का रोहित बलायर, डडेल्धुराको गन्यापधुरा– ३ की ३० वर्षीया माया रावल, कैलालीको गोदावरी– १० का पुरन कठायत, डडेल्धुराको नवदुर्गा गाउँपालिका– ३ का १७ वर्षीय तिलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटीको शिखर नगरपालिका– १० का १५ वर्षीय सागर बलायर, सोही नगरपालिका– ११ का २४ वर्षीय पदम विकको पनि सनाखत भएको छ ।

डोटीको शिखर नगरपालिका, बानीडुग्री सैनस्थित पिसजोन एकेडेमी नामक स्कुलको बस अमरगढी नगरपालिकास्थित उग्रतारा मेलाबाट फर्कंदा दुर्घटना भएको हो । ज्यान गुमाएकाहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरिने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिएका छन् । सो दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको छ । २ जनालाई डिस्चार्ज गरिएको छ भने १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । स्कुलका सञ्चालक भीम बलायरले परिवारसहित स्कुलका अन्य संस्थापक समेत लिएर मेला हेर्न गएको र फर्कने क्रममा स्याउलेभन्दा तलपट्टिबाट यात्रु समेत बोकेर गएको बुझिएको ट्राफिक प्रहरी पोस्ट डडेल्धुराका प्रहरी नायब निरीक्षक गणेश नागारीले जानकारी दिएको राससले जनाएको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर