newskoseli.Com

चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ

संघीय संसद संसदीय सुनुवाइ समितिले चार मुलुकका लागि प्रस्तावित राजदूतको आगामी आइतबार संसदीय सुनुवाइ गर्ने भएको छ ।

समितिको आजको बैठकले प्रस्तावित भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि सिफारिश राजदूतको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सरकारले नीलाम्बर आचार्यलाई भारत, उदयराज पाण्डेलाई मलेसिया, कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्स र डा।अञ्जान शाक्यको नाम इजरायलका लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

समितिको अघिल्लो बैठकले प्रस्तावित राजदूतको सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको थियो ।

उक्त अवधिमा प्रस्तावित राजदूतका सम्बन्धमा व्यक्ति लक्षित गरेर कुनै उजुरी नपरेपनि अधिवक्ता शतिशराज मैनालीले राजदूत नियुक्तिका सम्बन्धमा उमेर हद, अनुभव, पदावधि, समावेशीताको आधारलगायतका महत्वपूर्ण विषयबस्तु, विधि र प्रक्रियाबारे लिखित सुझावमार्फत समितिको ध्यानाकर्षण गराएका छन् । बैठकले राजदूतले कसरी काम गर्नुपर्छ, देशको इज्जत र प्रतिष्ठा बढाउन के कस्तो काम गर्नुपर्छ, भन्ने सन्दर्भमा आगामी शुक्रबार अनुभवी पूर्वराजदूतसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

समितिले पूर्वराजदूत पुष्करमानसिंह राजभण्डारी, रामभक्त पिभि ठाकुर, प्रल्हादकुमार प्रसार्इं, रुद्रकुमार नेपाल र निरञ्जनमानसिंह बस्नेतसँग परामर्श गर्ने निर्णय गरेको हो । समितिले राजदूत नियुक्तिका सम्बन्धमा लिखित सुझाव प्रस्तुत गरी सहयोग पुर्‍याउने अधिवक्ता मैनालीलाई उजुरीकर्ताको रुपमा बोलाएर राय सुझाव लिने निर्णय पनि गरेको छ ।

यसअघि बैठकमा सांसद योगेश भट्टराई, भीमसेनदास प्रधान, अमृता थापा मगर, जीतेन्द्रनारायण देवलगायतले यस पटक प्रस्तावित राजदूतका सम्बन्धमा गम्भीर प्रकृतिका उजुरी नपरे पनि नियुक्त हुने राजदूतलाई परिवारलाई विदेश घुमाउने तथा मन्त्री र सांसदलाई विमानस्थल लिन र पुर्‍याउन आउने भन्दा मुलुकको प्रतिष्ठा बढाउने काममा लगाउने नीति बनाउन आवश्यक रहेको सुझाव दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर