newskoseli.Com

ठेकेदार संगठनभित्रको विवाद चरमोत्कर्षमा : दुई पक्षद्वारा छुट्टाछुट्टै भेला आह्वान

निर्माण व्यवसायी सङ्घभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । सङ्घ, म्याग्दीको असन्तुष्ट पक्षले वर्तमान कार्यसमिति र साधारणसभाप्रति वैधानिकताको प्रश्न उठाएको छ भने दुवै समूहले बेनीमा छुट्टाछुट्टै भेला समेत आह्वान गरेका छन् ।

असोजमा सम्पन्न सङ्घको राष्ट्रिय अधिवेशनका लागि प्रतिनिधि छनोटप्रति असन्तुष्ट भएपछि सङ्घको पदावधि सकिएको समितिले गरेको निर्णय अवैधानिक भएको आरोपसहित पूर्वअध्यक्ष कृष्णकुमार शेरचन र वरिष्ठ उपाध्यक्ष प्रदीप सापकोटाले उच्च अदालत बागलुङमा रिट हालेपछि सङ्घभित्रको विवाद बाहिर आएको हो ।

असन्तुष्ट पक्षले वर्तमान कार्यसमितिको दुईवर्षे कार्यकाल जेठ २८ मै समाप्त भएको र साधारणसभा लगायतको संस्थागत गतिविधि समेत नगरेको भन्दै निर्माण व्यवसायीको भेला आह्वान गरेका छन् । सङ्घका पूर्वअध्यक्ष अमर बानियाँले अगुवाइ गरेको असन्तुष्ट पक्षले अदातलको आदेशबमोजिम २०७२ जेठ २९ मा नारायणबहादुर जीसीको अध्यक्षतामा निर्वाचित कार्यसमितिको पदावधि सकिएको र समितिले साधारणसभा तथा अधिवेशननै आह्वान गरेका कारण सङ्घलाई पुनर्जीवन दिन भन्दै शनिबार बेनीमा भेला बोलाएको छ ।

सङ्घको वर्तमान परिस्थिति र अदालतको उत्प्रेषणयुक्त परमादेशलाई कार्यान्वयन गरी सङ्घको वैधानिक रिक्ततालाई हटाएर नयाँ नेतृत्व चयनका लागि छलफल गर्न भेला आह्वान गरेको पूर्वअध्यक्ष बानियाँले बताए । यता सङ्घका वर्तमान अध्यक्ष जीसीले भने यसअघिका सबै अध्यक्षले तीनवर्षे कार्यकाल नेतृत्व गरेर ६ महिना म्याद समेत थप गरेर मात्रै अधिवेशन गरेको नजिर भएको प्रतिक्रिया दिए ।

समितिबाट आफूले आर्थिक कारोबार नगरेको, आफ्नो कार्यकालमा एउटा पनि चेकमा आफूले हस्ताक्षर नगरेको र आफू अल्पमतमा रहेकाले कुनै पनि संस्थागत आर्थिक कारोबार गर्न नपाएकाले सङ्घको नेतृत्वमा रहेर आफूले कुनै अपारदर्शी र आर्थिक चलखेल नगरेको दाबी समेत उनले गरे ।

सङ्घले महासङ्घको परिपत्र अनुसार दुईवर्षे कार्यकाललाई बढाएर तीनवर्षे बनाउने गरी विधान संशोधन गर्ने निर्णय लिए पनि अहिलेसम्म विधान संशोधनले वैधानिकता पाएको छैन । बयानब्बे जना साधारण सदस्य रहेको सङ्घको १०औं अधिवेशनमा भएको निर्वाचतमा वर्तमान अध्यक्ष जीसीबाहेक अन्य सबै पदाधिकारी र सदस्य अध्यक्षका प्रत्यासी गोपाल भट्टचन पक्षबाट विजयी भएका हुन् । निर्वाचनमा दलीय रुपमा प्रतिस्पर्धा भए पनि अहिले सङ्घभित्र देखिएको विवाद भने त्यसभित्रको आर्थिक गतिविधि, नेतृत्व र अस्तित्वसँग जोडिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर