कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सब–स्टेसनमा करेन्ट लागेर आइतबार बिहान एक कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका– १९, बागफाँटा घर भई हाल विद्युत् सब–स्टेसनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको हो ।
घटनाबारे आशङ्का व्यक्त गर्दै प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्त र स्थानीयवासीले भट्टको मृत्यु शङ्कास्पद भएको भन्दै पूर्व–पश्चिम राजमार्गको लालपुर खण्डमा अवरोध पुर्याउनुका साथै शव उठाउन दिएका छैनन् ।
८ वर्ष यता सुरक्षागार्डका रूपमा त्यहाँ कार्यरत मृतक भट्टले घटना हुनुअघि आइतबार बिहान सब–स्टेसनका प्रमुख कमलसिंह स्वारसँग बसेर चिया खाएको स्थानीय चियापसले नरेन्द्र साउदले बताए । स्थिति तनावपूर्ण बन्ने देखिएपछि लालपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको राससले जनाएको छ ।