पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा सोमबार राति ३ बजेतिर तस्करले प्रहरी चौकी पाङ्डेपुरका प्रहरीलाई कुटपिट गरी हतियार खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको सूचनाका आधारमा प्रहरी चौकी पिडारीगुठीबाट गएको प्रहरी टोलीले रोक्न खोज्दा तस्कर र प्रहरीबीच विवाद सुरु भएको थियो । प्रहरी चौकी पाङ्डेपुरबाट थप तीन जना प्रहरी घटनास्थल पुगेपछि विवाद झन् चर्किन जाँदा करिव ४० जनाको संख्यामा रहेका तस्करले प्रहरी जवानलाई लाठी, भाटाले कुटपिट गरी एक नाल थ्री–नट–थ्री राइफल समेत लुटेर फरार भएका हुन् ।
तस्करको कुटाइबाट प्रहरी चौकी पाङ्डेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव, प्रहरी जवान प्रेमबहादुर राणा र अर्जुन चौधरी घाइते भएका छन् । घाइते प्रहरीहरूको नेसनल मेडिकल कलेज र न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।
तस्करहरुको खोजी जारी रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताएको राससले जनाएको छ ।