पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती– १४ मा बिहीबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएका ३५ वर्षीय गौरीशङ्कर धोबीको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका २५ मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार घाइते २ जनाको भरतपुर र २ जनाको बुटवलमा अनि अरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । करिव ३५ जना यात्रु सवार रहेको बस सडकबाट २५ मिटर तल खसेको राससले जनाएको छ ।