जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।
धनुषाको साविक धनौजी गाविस– ४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताए ।
धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ देखि लागूऔषध मुद्दामा जरिवानासहित एक वर्ष आठ महिनाको कैद भुक्तान गर्दै आएका कैदी मण्डल नशासम्बन्धी रोगले ग्रसित थिए । पहिलेदेखि नै पटक–पटक विभिन्न अस्पतालमा उनको उपचार हुँदै आएको थियो । शुक्रबार बिहान करिव ६ बजे अचानक अत्यधिक बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । उपचारकै क्रममा करिव ७ बजे उनको मृत्यु भएको जेलर ठाकुरले बताए ।
मृतक मण्डलको शव परम्परागत रीतिरिवाज अनुसार अन्तिम संस्कारका लागि उनकी पत्नी प्रेमकुमारी देवीले बुझी लगेको जलेश्वर कारागारले जनाएको राससले उल्लेख गरेको छ ।