उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् ।
अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको जानकारी मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले दिएका छन् ।‘आगो नियन्त्रणको प्रयास भइरहेको छ, आगो अन्य क्षेत्रमा सर्न नदिन स्थानीयवासीले विभिन्न प्रयास गरिरहेका छन्’– उनले भने ।
अहिलेसम्म कति हेक्टर जङ्गलमा आगो फैलिएको छ भन्ने कुनै यकिन हुन नसकेको लामाको भनाइ छ । मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने जङ्गलमा भएको आगलागीको अवस्था बुझ्न कार्यालयबाट दुई कर्मचारी (रेञ्जर) त्यसतर्फ पठाइए पनि भौगोलिक विकटताका कारण मंगलबार अबेरसम्ममा मात्र त्यस क्षेत्रमा पुग्ने उनले बताए ।
‘आगो वीरेन्द्र तालतर्फ फैलँदै गएको छ,’ आयोजना प्रमुख लामाले भने– ‘स्थानीयवासी साम्दोको जङ्गलमा पनि आगो फैलन्छ कि भनेर सर्तक भर्इ बसिरहेका छन् ।’ आगलागीबाट मनास्लु संरक्षण क्षेत्रभित्र रहेका अत्यन्तै दुर्लभ जातका जङ्गली जनावर तथा चराचुरुङ्गी बढी जोखिममा परेको लामाको भनाइ छ ।
उक्त क्षेत्र कस्तुरीको वासस्थान क्षेत्र पनि हो । त्यहाँ हिमचितुवा, हिमाली थार, झारल तथा तल्लो क्षेत्रमा कालो भालुलगायतका दुर्लभ जातका जङ्गली जनावर र पशुपक्षी आगलागीको जोखिममा परेका छन् ।
आगो तत्काल नियन्त्रणमा लिन सक्ने अवस्था नै नभएको जानकारी स्थानीयवासीले दिएको आयोजना प्रमुख लामाको भनाइ छ । ‘स्थानीयलाई अग्निरेखा बनाएर बस्न सल्लाह दिइरहेका छौं, नाम्रुङ, फिलिमलगायतको प्रहरी चौकीबाट थप प्रहरी पठाएर सहयोग गर्न सकेको भए सजिलो हुन्थ्यो,’ उनले रासससँग भने– ‘आगोले त्यस क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटी समेत नष्ट भएको छ ।’