आइतबार राजधानी उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर नै चिसो बढेको छ ।
पछिल्लो विवरण अनुसार आइतबार काठमाडौंको न्यूनतम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस तापक्रम रहेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो ।
गत वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस थियो । त्यसैले गत वर्षको तुलनामा यस वर्ष अलि बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ । ‘सिजनल इफेक्टले न्यूनतम तापक्रम घटबढ भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसो महसुस गरिएको छ’– उनले भने ।
राति आकाश सफा भएकाले बिहान–बेलुकी बढी चिसो महशुस गरिएको हो । आइतबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । विभागका अनुसार सोमबार देशैभर मौसम सफा रहने छ ।
डडेलधुरा, मोरङ र ताप्लेजुङको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै, दाङ र पोखराको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी वीरेन्द्रनगरको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस छ भने जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको राससले जनाएको छ ।