प्रदेश– ३ सरकारले ‘निश्चित दक्षता हासिल गरेका’ करिव २ सय युवालाई स्वयंमसेवीका रुपमा परिचालन गर्दै राज्यकोषबाट रकम बाँड्ने मेसो मिलाएको खबर छ ।
प्रदेश– ३ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पुस महिनाबाटै स्वयंमसेवक परिचालन सुरु हुन लागेको छ । यो कार्यक्रमले प्रदेशको कर्मचारी समस्यालाई केही हदसम्म भए पनि कम गर्ने दावी मन्त्रालयले गरेको छ ।
स्वयंमसेवाको माध्यमबाट प्रदेशको सेवा प्रवाह तथा विकास निर्माणमा योगदान गराउन भन्दै सामाजिक विकास मन्त्रालयले प्रदेश मन्त्रिपरिषदको स्वीकृति लिएर यससम्बन्धी कार्यविधि निर्माण गरेको हो । कार्यविधिअनुसार स्वास्थ्य, समीक्षा, महिला, किशोर–किशोरी, खेलकुद, बालबालिका, ज्येष्ठ नागरिक सुरक्षा, कृषि सेवा, पशु सेवा, वन तथा जडीबुटी, वातावरण संरक्षण, प्राकृतिक प्रकोप जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा ‘स्वयंमसेवक’ परिचालन गरिनेछ ।
मन्त्रालयका अनुसार ४० शिक्षक, ९ डाक्टर, ९ हेल्थ असिस्टेन्ट, ९ स्टाफ नर्स, ४ अनमी, ९ फर्मासिस्ट तथा रेडियोग्राफर, १७ सडक–मानव सहजकर्ता, १५ बालविवाहमुक्त अभियानकर्ता, ५२ खेल प्रशिक्षक, १६ कृषि प्राविधिक तथा १३ पशु प्राविधिकलाई ‘स्वयंमसेवक’ का रुपमा परिचालन गरिनेछ ।
स्वयंमसेवकको सेवा–सुविधा पनि कार्यविधिमा उल्लेख गरिएको छ । स्वयंमसेवीलाई ‘निर्वाह खर्च उपलब्ध गराइने’ जानकारी मन्त्रालयका उपसचिव युवराज बगालेले दिएको राससले जनाएको छ ।