दोस्रो भक्तपुर जिल्लाव्यापी धिमे बाजा प्रतियोगिता, २०७५ को उपाधि सूर्यविनायक नगरपालिका– १, सिरुटारस्थित लुनिभाः धिमे खलः ले हात पारेको छ ।
सरस्वती कला केन्द्रले सूर्यविनायक नगरपालिकाको चित्रपुरमा आयोजना गरेको प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलः ले १५ हजार नगर पुरस्कार सहित उपाधि हात पारेको हो । प्रतियोगितामा मध्यपुर थिमिको सिवाः साय्मि खलः ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूजः धिमे खलः तेस्रो र सिवाः साय्मि खलः कै मचा पुचः समूह ‘ख’ चौथो भएका छन् ।
कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नगरको मौलिक कला र संस्कृति संरक्षणमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताए । त्यस अवसरमा दधिकोट पकाण्डोलका वाद्यगुरु कृष्णबहादुर मानन्धरलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
मेलमिलाप दिवसको अवसरमा कांग्रेसद्वारा फलफूल वितरण
बयालीसौं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिले भक्तपुर अस्पतालमा फलफूल वितरण गरेको छ ।
सो क्रममा अस्पतालका ६८ जना बिरामीलाई फलफूल र हर्लिक्स वितरण गरियो ।
मध्यपुरथिमि नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिका सभापति राम कासुलासहितको टोलीले फलफूल वितरण गर्दै देशलाई मेलमिलापको नीतिअनुसार अगाडि लैजानुपर्नेमा जोड दिएको राससले जनाएको छ ।