नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको एकता कार्यदल कार्यदलले एकता प्रक्रियामा बाँकी रहेका काम १० दिनभित्र टुङ्ग्याउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउने गरी प्रतिवेदन दिन कार्यदललाई संयुक्त रुपमा निर्देशन दिए ।
कार्यदलले केन्द्रीय सदस्यको जिम्मेवारी, जिल्ला कमिटीका अध्यक्ष एवम् सचिवको चयन, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र जनवर्गीय सङ्गठनको एकताका विषयमा सुझाव दिनेछ । यस्तै, प्रदेश कमिटी गठन गर्दा देखिएका केही असन्तुष्टिलाई समेत सम्बोधन गर्न कार्यदललाई जिम्मा दिइएको छ ।
नेकपाको हालै सम्पन्न स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन कार्यदल बनाएको थियो । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ तथा स्थायी समिति सदस्य शङ्कर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, वेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्रप्रसाद पाण्डे र लेखराज भट्ट रहेका छन् ।
कार्यदलले आवश्यक परामर्श गरी प्रतिवेदन तयार पारी स्थायी समितिमा बुझाउनेछ र स्थायी समितिले सोही प्रतिवेदनका आधारमा एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउने छ । कार्यदलका एक सदस्यका अनुसार कार्यदलले सङ्गठनात्मक एकतासम्बन्धी समग्र प्रस्ताव तयार पारी बुझाउनेछ भने पार्टीको विधानमा बाझिएका केही विषयमा समेत सुझाव दिनेछ ।
पार्टीको तल्ला तहसम्मको एकताका विषयमा समेत १० दिनभित्र प्रस्ताव तयार पार्न अध्यक्षद्वयले निर्देशन दिएको कार्यदलका अर्का एक सदस्यले जानकारी दिएको राससले जनाएको छ ।