
९ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका– ११ का ४ किशोर अझै फेला परेका छैनन् ।
१२ देखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका– ११, अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल ९ दिनदेखि बेपत्ता छन् ।
दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत हुन भने सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दै आएका थिए । बेपत्ता चारै जनाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । उनीहरुका आफन्त तथा साथीभाइसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।
अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्ला बाहिर जाने विभिन्न लामो तथा छोटो दूरीका सवारी साधनमा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको राससले उल्लेख गरेको छ ।