मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको ५ पटकभन्दा बढी फेला परेपछि ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) महानगरीय ट्राफिक प्रहरी महाशाखाले खारेज गरिदिएको छ ।
पटक–पटक मापसे गरेर सवारी साधन चलाएपछि महाशाखाले लाइसेन्समा प्वाल पार्दै आएको थियो । २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । मापसे गरी सवारी साधन चलाउने चालकको लाइसेन्समा महाशाखाले २०६९ मङ्सिर २२ देखि प्वाल पार्न थालेको हो ।
विभिन्न चरणमा गरी हालसम्म १ लाख ७८ हजार १ सय ९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बताए । पहिलो पटक १ लाख ३७ हजार ९ सय ५२, दोस्रो पटक २६ हजार ७ सय २७, तेस्रो पटक ८ हजार ८ सय ४०, चौथो पटक ३ हजार १ सय २३ र पाँचौ पटक १ हजार १ सय ३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो ।
‘लाइसेन्स खारेजीमा परेका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,’ उनले भने– ‘दुर्घटना घटाउन र मापसे गरी सवारी साधन चलाउने चालकको अभिलेख राख्नका लागि यस्तो व्यवस्था गरेका हौं ।’
आर्थिक वर्ष २०७०–७१ मा ५२, आ.व. २०७१–७२ मा १ सय २२, २०७२–७३ मा १ सय ३३, २०७३–७४ मा ४१, २०७४–७५ मा ५८ र चालू आ.व. मा १७ चालकको लाइसेन्स खारेज गरिएको खबर राससले सम्प्रेषित गरेको छ ।