सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईले भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले ९ महिना कैद र ७९ लाख ८७ हजार २ सय २५ बिगो जरिवाना हुने फैसला गरेको छ ।
न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले भट्टरार्इलाई दोषी ठहर गर्दै बिहीबार सो फैसला गरेको हो । पदमा हुँदा भट्टराईले १ करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबरका स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पुष्टि भएको हुँदा उनी भ्रष्टाचारी ठहर भएको अदालतको आदेशमा उल्लेख छ ।
भट्टराईको कूल सम्पत्ति ३ करोड १७ लाख ६७ हजारमध्ये १ करोड २६ लाख ३० हजार २ सय ४९ स्रोत खुलेको सम्पत्ति भएको ठहर अदालतले गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड ९१ लाख ९६ हजार ८ सय ८१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै २०७३ मङ्सिर ८ मा भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको राससले जनाएको छ ।