
गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट प्रहरीले शुक्रबार अवैध चार किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए ।
प्रहरीले पृथ्वीराजमार्गको गजुरीमा सवारी जाँच गर्दा बा ८७ प ७७३१ र प्रदेश नम्बर ३ ०२–००३ प २५४० नम्बरका मोटरसाइकलबाट उक्त सुन बरामद गरेको थियो । प्रहरीले सुन र मोटरसाइकलसमेत तीनजनालाई हिरासतमा लिएको राससले जनाएको छ ।