समुदाय–प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामाको संयोजकत्वमा ३५ सदस्यीय ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति’ गठन गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गरी लैङ्गिक हिंसा नियन्त्रण गर्न र अपराध अनुसन्धानमा सरोकारवाला निकायसँग छलफल गरी आइतबार सो समिति गठन गरिएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला पक्षसँग समन्वय र सहकार्य अभिवृद्धि गर्ने र समाजमा शान्ति कायम गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका सेवा निर्देशनालयबाट स्वीकृत भई आएको निर्देशिका बमोजिम समिति गठन गरिएको हो ।
समाजमा लैङ्गिक हिंसा बढ्दै गएकाले घटना भएपछि अनुसन्धान गर्नुभन्दा घटना हुन नदिने सावधानी अपनाउन समुदायमा प्रहरी कार्यक्रम सुरु गरेको वरिष्ठ प्रहरी उपरीक्षक लामाले बताए । ‘समुदायसँग प्रहरी’ कार्यक्रमअन्तर्गत सडकमा बेवारिसे रुपमा बसेका २१ मानिसलाई उद्धार गरी विभिन्न आश्रममा राख्ने गरिएको राससले जनाएको छ ।