
प्रदेशसभामा चुनाव जितेका तर अनेकौं मुद्धा र लफडाका कारण सपथग्रहण गर्न नपाएका ‘डन’ दिपक मनाङे (राजिव गुरुङ) लाई पनि प्रदेशसभाको सांसद पदमा सपथग्रहण गराइने सम्भावना प्रबल देखिएको छ ।
केही दिन अघि मात्रै मनाङेलाई सपथ नगराइने बताएका गण्डकी प्रदेशसभाका सभामुख नेत्रप्रसाद अधिकारीले आफ्नो कुरा फेर्दै मनाङेको सपथबारे मंगलबार ‘ठोस निर्णय आउने’ बताएका छन् । मनाङेलार्इ सपथ गराइने–नगराइनेबारे मंगलबार ठोस धारणा सार्वजनिक गर्ने उनले बताए ।
आइतबार बेलुकी पोखरा आइपुगेका गुरुङले सोमबारदेखि भेटघाट बढाएका छन् । मनाङेले सोबार प्रदेशसभा परिसरमा मुख्यमन्त्रीलगायत प्रदेशसभाका विभिन्न सदस्यहरुसँग भेटघाट गरे । सपथ लिन पाउनु आफ्नो अधिकार भएकाले सपथ लिएर मात्रै फर्कने दावी मनाङेले सञ्चारकर्मीहरुसँग गरे ।
उनी प्रदेशसभा परिसरमा देखा परेपछि त्यहाँ रहेका सबैको ध्यान मनाङेतिरै केन्द्रित भएको थियो ।