newskoseli.Com

विप्लवको पार्टीप्रति सरकार ‘कडा’ : विद्यार्थी अध्यक्ष गिरफ्तार, रिहा नगरे आन्दोलनको चेतावनी

केही समय सामान्यजस्तो देखिएको सरकार तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबीच फेरि दुरी बढेको देखिन थालेको छ । विप्लव नेतृत्वको नेकपासम्बद्ध नेता–कार्यकर्तालाई धमाधम गिरफ्तार गर्ने क्रम फेरि बढेको छ ।

केही दिन अघि मात्र झन्डै आधा दर्जन मजदुर कार्यकर्ता गिरफ्तार गरेको सरकारले हालै मात्र सो पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष र पार्टीका जिल्ला नेतालाई गिरफ्तार गरेको छ । क्रान्तिकारीका सुर्खेत जिल्ला अध्यक्ष कमलसिंह बुढालाई प्रहरीले सोमबार गिरफ्तार गरेको हो । प्रहरीले उनीसँगै मातृपार्टी नेकपाका जिल्ला सदस्य गोविन्द योगीलाई समेत गिरफ्तार गरेको छ ।

संगठनको काममा रहेका अध्यक्षको गिरफ्तारीको भर्त्सना गर्दै अखिल (क्रान्तिकारी) ले आपत्ति जनाएको छ । सो संगठनका भेरी ब्युरो संयोजक पुष्पराज न्यौपानेले विज्ञप्ति जारी गरेर उनलाई तत्काल रिहाई गर्न माग गरेका छन् । यथासिघ्र रिहाई नगरे आफूहरु कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी न्यौपानेले दिएका छन् ।

केपी ओली नेतृत्वको सरकार गठन लगत्तैदेखि सो पार्टीका नेता–कार्यकर्तालाई देशैभरबाट गिरफ्तार गर्ने क्रम तीव्र भएको थियो । सरकारले विभिन्न पक्षसँग वार्ता गर्न वार्ताटोली गठन गरेपछि विप्लव नेतृत्वको पार्टीका नेता–कार्यकर्ताको गिरफ्तारीमा निकै कमी आएको थियो । वार्ताको सोही प्रचारवाजीकै बीच पक्राउ परेका सो पार्टीका सयौं नेता–कार्यकर्ता समेत रिहा गरिएका थिए ।

सोमप्रसाद पाण्डेको नेतृत्वमा गठित सरकारी वार्ता टोलीले विप्लव नेतृत्वको पार्टीले वार्तामा चासो नदेखाएको र आफूहरुलाई ‘उपयोग’ मात्र गरेको भन्दै सरकारलाई प्रतिवेदन बुझाएर उक्त पार्टीविरुद्ध ‘कडा कदम चाल्न’ सुझाव दिएको थियो । न्युजकोसेलीसँग कुरा गर्दै सो पार्टीका एक नेताले पाण्डे टोलीको सो भनाइ लगत्तैदेखि सरकारले आफूहरुमाथि दमनचक्र बढाएको आरोप लगाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर