बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका– ९ स्थित एक छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ ।
छाउगोठमा अत्यधिक चिसो भएपछि ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिंदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको हो । सोही नगरपालिका– ९, अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उनका १२ वर्षीय छोरा सुरेश र ९ वर्षीया छोरा रमित बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।
उनका अनुसार मृतकका आमा र दुई छोरा सुतिरहेका बेला राति आगोे सल्केर सिरक टिप्न गइर् आमा र दुई बालक मृतावस्थामा फेला परेको स्थानीयवासीले खबर दिएपछि इलाका प्रहरी कार्यालय कोल्टी र जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी घटनास्थल पुगेका थिए । मृतक बोहराका श्रीमान् नोकरीका लागि विदेशमा रहेको राससले जनाएको छ ।