newskoseli.Com

छोरी जन्माउनोस्, गाउँपालिकाले खोलिदिन्छ बैंक खाता !

इच्छाकामना गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा गाउँपालिकाले रकम सहितको बैंक खाता खोलिदिने भएको छ ।

गाउँपालिकाले एक जना बालिकाको खातामा ५ हजार रुपैयाँ जम्मा गरी अभिभावकले समेत कम्तिमा ५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण–हत्या बढ्न थालेपछि सो अभियान सुरु गरिएको गाँउपालिकाले जनाएको छ । अभिभावकको अवस्था कमजोर भएमा दाता समेत खोजिदिएर उक्त रकम जम्मा गराइदिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रमुख गीता गुरुङका अनुसार गाउँपालिका भित्रका बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोल्न लागिएको हो । इच्छाकामना– १ स्थित हात्तीवाङ– ४ को कुरीनटार, ६ को चण्डीभञ्ज्याङ र ७ को माथिल्लो दाहाखानीमा ‘बर्थिङ सेन्टर’ रहेका छन् ।

ती चार वटा बर्थिङ सेन्टरमा गत वर्ष जन्मिएका शिशुमध्ये २७ छोरी र १ सय छोरा भएपछि आफूले बाल बचत कार्यक्रम सुरु गरेको उनले बताइन् । सो गाउँपालिकामा २५ हजार १२ जनसङ्ख्या छ, जसमध्ये १३ हजारभन्दा बढी महिला छन् । स्थानीयस्तरमा रहेका सहकारी र ठूला संस्थासँग समेत छोरीको खातामा रकम राखी सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको अध्यक्ष गुरुङले बताइन् ।

ती खातामा कम्तिमा १० हजार रूपैयाँ र त्योभन्दा माथि निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने योजना बनाइएको छ । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक हुने छन् । हालका लागि गाउँपालिकाभित्रका बर्थिङ सेन्टरमा मात्रै जन्मिएका छोरीको नाममा खाता खोले पनि पछि सो गाउँपालिकाबाट अन्यत्र गएर छोरी जन्मिएमा पनि खाता खोलिदिने योजना रहेको उनले बताइन् ।

छोरीका नाममा खाता खोलिदिने प्रयोजनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षका निम्ति ३० लाख रूपैयाँ बजेट विनियोजन गरी महिलाको चेतना अभिवृद्धिसँगै सिपमूलक तालिम समेत दिँदै आएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर