newskoseli.Com

‘लिट्टिल बुद्ध’ रामबहादुरको आश्रमबाट ‘महात्मा गुरु’ पक्राउ

बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एउटा आश्रमबाट बिहीबार एक ‘महात्मा गुरु’ लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका– ८, स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले ‘सोधपुछका लागि’ ती ‘महात्मा गुरु’ लाई नियन्त्रणमा लिएको हो । आश्रमबाट ‘महात्मा गुरु’ भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

हेटौंडा घर भएका स्याङ्तानलाई सामान्य सोधपुछ गर्नुपर्ने भएकाले सिन्धुली आश्रमबाट ल्याइएको उनले बताए । सामान्य सोधपुछका लागि ल्याइएको बताए पनि प्रहरीले यसबारे थप जानकारी दिएको छैन ।

यसैबीच, सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली सिन्धुली आइपुगेको छ । बुधबार बेलुका उक्त टोलीले विगत तीन वर्षदेखि आश्रममा बस्दै आएका रामेछापको भीरपानीका २० वर्षीया सोनाम मुक्तान, तोप्चेन ‘गुरु’ लगायतका व्यक्तिसँग सोधपुछपछि स्थलगत अवलोकन समेत गरेको थियो ।

सिन्धुलीको पैरै, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमा मात्र रामबहादुर बम्जनको आश्रम रहेको उनका अनुयायीले बताए । ‘सत्यको खोजीका लागि’ यस ‘धर्म’ मा लागेको र आफूहरूले ‘ज्ञान प्राप्त गरिरहेको’ उनीहरूको भनाइ थियो । ‘गुरु’ बन्द प्रशिक्षणमा रहेकाले बम्जनलाई अहिले भेट्न नमिल्ने जवाफ उनीहरूले प्रहरीलाई दिएका थिए ।

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोकको बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको टोली थप अनुसन्धान गर्न अहिले बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ आएको हो । बम्जन आश्रमबाट हराएका व्यक्तिका आफन्तले उजुरी दिएपछि प्रहरी टोली अनुसन्धानमा केन्द्रित भएको छ ।

सिन्धुपाल्चोकबाट आएको टोलीले आवश्यक अनुसन्धान गरे पनि कुनै पनि जानकारी दिएको छैन । बम्जन आश्रममा पुगेका प्रहरी नायव उपरीक्षक कँडेलले आवश्यक अनुसन्धान भइरहेको र यसबारे अहिले नै केही कुरा खुलासा गर्न नमिल्ने बताए । ‘हामी चरणबद्ध अनुसन्धानका लागि सामान्य सोधपुछ गरिरहेका छौं’– उनले भनेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर