newskoseli.Com

मन्त्रीद्वारा सचिवको गालामा झापड : दुवैका बेग्लाबेग्लै दावी

प्रदेश– २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ ।

कार्यक्रमका लागि कार्यक्रमका लागि मन्त्री यादवको नजिकको संस्था छनोटमा नपरेको हुँदा उनले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाएका छन् । सचिव झाले भने– ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुन लागेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) का लागि गैरसरकारी संस्थालाई छनोट गर्नुपर्ने प्रारम्भिक सूचीमा मन्त्री यादव नजिकको संस्था नपरेकाले उहाँले आफ्नो कार्यकक्षमा बोलाएर मेरो गालामा झापड हान्नुभयो ।’ आफूले लगेको फाइल र डायरी समेत मन्त्री यादवले खोसेको आरोप सचिव झाले लगाए ।

सङ्घीय सरकारले सशर्त अनुदान अन्तर्गत गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालनका लागि १ सय ९३ वटा गैरसरकारी संस्थाले मन्त्रालयमा आशयपत्र दिएका थिए । तीमध्येबाट ४० वटा संस्था छनोट भएका थिए । मन्त्री यादवले आफ्नो नजिकको संस्थालाई छनोट गरिदिन दबाब दिँदा आफूले नमानेको र ती संस्था छनोट सूचीमा नपरेका कारण उनले आफूलाई कुटपिट गरेको सचिव झाको भनाइ छ ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेको भन्दै कर्मचारीले मन्त्री बस्ने मुख्य ढोकामा नै धर्ना दिएका थिए । कर्मचारीको धर्नाबाट मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्री यादवले भने आफूले नकुटेको जिकिर गरेका छन् । सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडि ‘आफू जनकपुरको लोकल हुँ’ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको उनले बताए ।

आफूले सचिवलाई कुटेको प्रमाण भए कारबाही भोग्न तयार रहेको मन्त्री यादवले बताए । घटनापछि सचिव झालाई जिल्ला प्रहरी कार्यालय धनुषामा एक घन्टा राखेर प्रहरीले बयान लिएको थियो । त्यसपछि उनलाई प्राथमिक उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्‍याइएको थियो । घटनापछि सचिव झाले सञ्चारकर्मीसँग कुरा गर्दै आफू मन्त्रीविरुद्ध अब कानुनी कारबाहीतर्फ जाने चेतावनी दिए ।

सचिव झाले आफूलाई नटेरेको भन्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्द बुढाले पनि जेठमा केन्द्रको वन तथा वातावरण मन्त्रालयमा फिर्ता गरिदिएका थिए । केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई असोजमा प्रदेश– २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।

यस घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेश– २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । छानविन समितिमा प्रदेश– २ का मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाँल रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर