पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका– ४, लेवाटारमा सोमबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको पाँचपोखरी थामङपालकोट– १ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थामङपालकोट– ४ बस्ने २१ वर्षीय उदित बस्नेत रहेका छन् ।
प्रहरीका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ३११० नम्बरको बोलेरोले काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०२००३ प ५२१० नम्बरको मोटरसाइकललाई साँझ ५ः२० बजे ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ ६ः३० बजे घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।