पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सन नामक ठेकेदार कम्पनीका मालिक विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले पाण्डेलाई सो रकम धरौटी बुझाएर रिहा गर्ने आदेश बुधबार जारी गरेको हो ।
विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार पाण्डेलाई अदालतले बुधबार हाजिर हुन भनेअनुसार पाण्डे हाजिर भएर बहसपछि ग्लोबल बैंकले बैंक ग्यारेन्टी दिएपछि धरौटीमा रिहा भएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर २१ मा पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । पाण्डेसहित २१ जनालाई सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो ।
सो कन्स्ट्रक्सनका प्रमुख पाण्डेसहित अख्तियारले तत्कालीन आयोजना प्रमुख सरोजचन्द्र पण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो ।
२ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रूपैयाँ भ्रष्टाचार गरेको अभियोगमा आयोगले पाण्डेसँग सोही रकम बराबर विगोसहित २ वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । रासस