राजधानीको कीर्तिपुर नगरपालिका– ६ स्थित चोभारमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको विरोधमा स्थानीयवासी प्रदर्शनमा उत्रेका छन् ।
‘चोभार संरक्षण समिति’ को अगुवाइमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्जन, मिलन थापालगायत पक्राउ परेका छन् ।
हिमाल सिमेन्ट उद्योगसँग सम्बन्धित जग्गाको समस्या, कर्मचारीको समस्या र स्थानीय जनताको माग समाधानपछि मात्रै सुख्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता विपरीत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्याय गर्ने कार्यक्रम तय भएकाले विरोधमा उत्रनुपरेको ‘चोभार संरक्षण समिति’ का संयोजक पञ्चलाल महर्जनले बताए ।
विद्यमान समस्याको समाधान नभई सुख्खा बन्दरगाह उपयुक्त भए–नभएको बारे निर्णयमा पुगिनसकिएको अवस्थामा ‘भूमिगत शैली’ मा योजनाको शिलन्याय गर्न खोजिएको भन्दै उनले आक्रोश पोखे । स्थानीयवासीको विरोधका कारण प्रधानमन्त्रीले गर्ने भनिएको सुख्खा बन्दरगाह शिलान्यास कार्यक्रम सुरु हुन सकेको छैन ।
प्रहरी हस्तक्षेपका बीच स्थानीयवासीको आन्दोलन जारी रहेकाले त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । ऐतिहासिक र पर्यटकीय महत्त्वको चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिनु नहुने अडान राख्दै स्थानीयवासीले राख्दै दबावमूलक आन्दोलन गर्दै आएका छन् ।