नेपालबाट ठूलो सङ्ख्यामा श्रमिक लिँदै आएको साउदी अरबसँग द्विपक्षीय श्रम सम्झौता हुनुपर्नेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जोड दिएका छन् ।
नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद एसएआर्इ मारवेनीले बिहीबार गरेको शिष्टाचार भेटमा मन्त्री विष्टले साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिक र घरेलु कामदारलाई व्यवस्थित गर्न दुई मुलुकबीच तत्काल द्विपक्षीय श्रम सम्झौता गरिनुपर्नेमा जोड दिएका हुन् ।
भेटका क्रममा मन्त्री विष्टले घरेलु कामदारको सम्बन्धमा अलग्गै द्विपक्षीय श्रम सम्झौताको व्यवस्था गर्नुपर्ने बताए । नेपाली श्रमिक साउदी अरब जाने विषयमा निश्चित विधि र शर्तको आधारमा अगाडि बढ्न र त्यस्ता विषयलाई समेत सम्झौतामा उल्लेख गर्नुपर्ने उनले बताएको श्रम मन्त्रालयले जनाएको छ ।
नेपाली श्रमिकको शव नेपाल ल्याउन लामो समय लाग्ने, श्रमिकले करार सम्झौता बमोजिमको पारिश्रमिक तथा सेवा–सुविधा पाउन कठिनाइ हुने, करार अवधि समाप्त भइसकेपछि समयमै स्वदेश फिर्ता हुन व्यवहारिक झन्झट रहनेजस्ता समस्या नेपाली श्रमिकले भोग्दै आइरहेको जानकारी गराउँदै मन्त्री विष्टले यस्ता क्रियाकलापमा साउदी सरकारको विशेष ध्यानाकर्षण गराए ।
भाषा र अन्य समस्याका कारण सानो गल्ती गर्दा पनि नेपालीले जेलजीवन बिताउनु परेको उल्लेख गर्दै यसका लागि दुवै मुलुक जिम्मेवार हुनु जरुरी रहेको उनले बताए ।
सो अवसरमा राजदूत मारवेनीले द्विपक्षीय श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन साउदी सकारात्मक रहेको बताए । द्विपक्षीय श्रम सम्झौताको लागि साउदी सरकारले यसअघि नै सम्झौताको मस्यौदा पठाइसकेकाले दुवै मुलुकले प्राविधिक समूह गठन गरी छलफलको माध्यमबाट निश्कर्षमा पुग्नु पर्नेमा राजदूत मारवेनीले जोड दिए । श्रमिक आप्रवासन लेनदेनलगायतमा समेत नेपाल सरकारसँग सहकार्य गर्न साउदी सरकार तयार रहेको उनले बताएको श्रम मन्त्रालयले जनाएको खबर राससले प्रेषित गरेको छ ।