newskoseli.Com

केन्द्रीय कारागारमै १३ कैदी–बन्दीको मृत्यु !

नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदी–बन्दीको मृत्यु भएको छ ।

कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदी–बन्दीको मृत्यु भएको जानकारी कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. भगतलाल श्रेष्ठले दिएका छन् ।

‘रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदी–बन्दी भएका कारण मृत्यु भएको हो’– उनले भने । कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पतालमा पठाउँदै आएको डा. श्रेष्ठले बताए ।

वि.सं. १९७१ मा स्थापना भएको मुलुककै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा वि.सं. २०२० तिरबाट कैदी–बन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्न थालिएको हो । केन्द्र, भद्र र महिला जेल भएको केन्द्रीय कारागारमा हाल २ हजार ८ सय कैदी–बन्दी रहेका छन् ।

चालू आ.व. मा मात्र झन्डै ५ हजार नयाँ तथा पुराना कैदी–बन्दीले उपचार गराएको कारागार अस्पतालले जनाएको छ । आ.व. २०७४–०७५ मा ३२ हजार नयाँ तथा पुराना कैदी–बन्दीले त्यहाँ उपचार गराए ।

२४सै घन्टा कैदी–बन्दीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामी बाहेक डिल्लीबजार कारागार र नख्खु कारागारका कैदी–बन्दीको समेत उपचार गर्दै आइरहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर