
लामो दुरीमा सञ्चालन हुने गाडीमा आफूखुशी जोडिएका सिट जिल्ला ट्राफिक प्रहरी कार्यालयले हटाउन थालेको छ ।
डोटीबाट तराईतर्फ जाने लामो दुरीका गाडीले आफूखुशी सिट जडान गरेपछि हटाउने अभियान ट्राफिक प्रहरीले थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण वर्षेनि सवारी दुर्घटना बढेपछि लामो दुरीका गाडीले आफूखुशी जोडेका सिट हटाउने अभियान थालिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामीले दिए ।
उनले भने–‘चालकले आफूखुशी जथाभावी सिट जडान गरेपछि यात्रा जोखिमपूर्ण हुने तथा बढी दुर्घटना निम्त्याउने भएका कारण हामीले हटाउन थालेका हौं ।’
आफूखुशी सिट जडान गरी चालकले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना निम्तिएको ट्राफिक प्रहरीको भनाइ छ । लामो रुटका गाडीले जोडेका सिट ट्राफिक प्रहरीले हटाउन थालेपछि स्थानीयवासी भने खुशी भएका छन् । सवारी पासभन्दा बढी यात्रु बोक्ने र जथाभावी सिट जडान गर्ने गाडी चालकलाई कारबाही गर्ने नियम बनाइएको खबर राससले प्रेषित गरेको छ ।