newskoseli.Com

हात्ती धपाउन साइरन गाडीसहित गस्ती

बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन डिभिजन वन कार्यालयले साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।

विगत एक महिनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउन र अन्नबाली खाएर क्षति पुर्‍याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली सुरु गरेको जानकारी कार्यालय प्रमुख विष्णु घिमिरेले दिए ।

उनका अनुसार सो क्षेत्रको सामुदायिक वन क्षेत्रमा गर्भिणी ढोईसहित १३ जङ्गली हात्ती रहेको अनुमान गरिएको छ । ती हात्ती दिनभर आदर्श, नमूना र थोप्लेविरान सामुदायिक वनभित्र बस्ने र साँझ पर्नासाथ गाउँ पसेर स्थानीयवासीलाई आतङ्कित तुल्याउने गरेको बुद्धशान्ति– ३ का सीताराम बाँस्तोलाले बताए ।

गाउँको बीचमा रहेको जङ्गलमा हात्तीको वासस्थान भएका कारण गाउँवासीको अन्नबाली मात्र नभएर ज्यानै जोगिन गाह्रो भइरहेको बुद्धशान्ति– ३ का वडाध्यक्ष कमल उप्रेतीले बताए । जिल्ला वन कार्यालयबाट साइरन गाडीसहितको सात सदस्यीय वनरक्षक टोली आएपछि स्थानीयवासीले राहत र सुरक्षित अनुभूति गर्न पाएको उनले बताए ।

स्थानीय आदर्श सामुदायिक वन समितिको कार्यालयमा वनको गस्ती टोली बस्दै आएको छ भने टोलीले हरेक दिन हात्ती गाउँ पस्ने भएकाले साँझ पर्नासाथ स्थानीयवासीलाई घरबाट ननिस्कन माइकिङ समेत गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेको टोली र स्थानीय युवाले हात्ती धपाउन वनरक्षक टोलीलाई मद्दत गर्दै आएका छन् । सो क्षेत्रमा हात्तीले एक महिनामा तीन दर्जनभन्दा बढी घर भत्काइसकेको छ भने स्थानीयवासी रातभर ढुक्कले निदाउन नसकेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर