पत्नीलाई उनको इच्छा र चाहनाविपरीत जबर्जस्ती यौन व्यवहार (बलात्कार) गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् ।
पतिले आफूलाई बलात्कार गरेको भन्दै आफ्नै ३७ वर्षीया पत्नीले जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका– ९, बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी प्रहरी नायब उपरीक्षक मिलन केसीले दिए ।
आफ्नै पतिले माघ ४ मा जबर्जस्ती यौनकार्य (बलात्कार) गरेको भन्दै श्रीमतीले माघ ६ मा जाहेरी दिएपछि सोही दिन प्रसूतिगृह थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरेको जानकारी उनले दिए । वैवाहिक बलात्कार ऐनअन्तर्गत मुद्दा चलाएर प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जानकारी प्रनाउ केसीले दिए ।
वैवाहिक बलात्कारको घटनामा उजुरी आएको भक्तपुरमा यो दोस्रो घटना भएको जानकारी प्रहरी उपरीक्षक हिमालय केसीले दिए । उनका अनुसार जेठ २३ मा सूर्यविनायक नगरपालिका– ७ स्थित ३४ वर्षीया पत्नीले आफ्नो शारीरिक र मानसिक अवस्था ठीक नभएको अवस्थामा समेत २०७३ भदौदेखि २०७४ चैत २ सम्म पतिले पटक–पटक बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।
आफ्ना पति त्रियुगा नगरपालिका– १, उदयपुरका ४२ वर्षीय विशाल भन्ने तेजप्रसाद खतिवडाले बलात्कार गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरे पनि उनी हालसम्म फरार रहेको खबर राससले प्रेषित गरेको छ ।