मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सुर्खेतका एक सरकारी कर्मचारीमाथि कालोमोसो दलेको छ ।
त्यहाँबाट प्राप्त समाचारअनुसार सो पार्टीसम्बद्ध क्रान्तिकारी युवा लिग, नेपालको सुर्खेत जिल्ला समितिको एक टोलीले जिल्ला मालपोत कार्यालयका सूचना अधिकृत नरबहादुर घर्तीलाई कालोमोसो दलेको हो । उक्त पार्टीका सुर्खेत नेता हिमाल शाहीले दिएको जानकारी अनुसार भ्रष्ट कर्मचारीका रुपमा बदनाम घर्तीलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो । उनलाई युवा लिगको टोलीले दिउँसो साढे तीन बजे कालोमोसो दलेको शाहीले बताए ।
यसअघि पनि सो संगठनले वाइडबडी घोटालाका मुख्य दोषी भन्दै वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसकारलाई पनि राजधानीस्थित कार्यकक्षमै कालोमोसो दलेको थियो । कंसाकारबाट सुरु भएको भ्रष्टाचारीमाथि कारबाहीको अभियान देशैभर चलाइने क्रान्तिकारी युवा लिगले बताएको छ ।