चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।
सोमबारदेखि सुरु कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुकी ५ बजेसम्म चल्ने कक्षामा दिवाखाजा र प्रतिविद्यार्थी १ सय रुपैयाँका दरले स्टेसनरीको समेत निःशुल्क व्यवस्था गरिएको छ ।
चौतारा बहुमुखी क्याम्पसमा सञ्चालित तयारी कक्षा फागुन ७ सम्म सञ्चालन हुने बताइएको छ । नायब सुब्बास्तरको परीक्षाका लागि सञ्चालन गरिएको तयारी कक्षामा ५ जना शिक्षकले पढाइरहेका छन् । कक्षामा लामा र छोटा प्रश्नहरु, तिनको उत्तर, लोकसेवा परीक्षाको लेखनशैली, स्मरणशक्तिका लागि आवश्यक सूत्रहरु, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको तयारीजस्ता विषय पढाइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको बजेटबाट तयारी कक्षा सञ्चालन गरिएको जानकारी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले दिइन् । ‘नगरपालिकाले महिलाका लागि छुट्याएको बजेटबाट नै तयारी कक्षा सञ्चालन गरेका हौं,’ उपप्रमुख पराजुलीले भनिन्– ‘यसले महिलाको व्यक्तित्व विकास र भविष्य निर्माणमा गुणात्मक परिणाम दिने अपेक्षा गरेका छौं ।’ यस्ता कार्यक्रमले महिलालाई पुरुषसँग खुला प्रतिस्पर्धा गर्ने हैसियतमा पुर्याउने दावी उनले गरिन् ।
‘हामी लोकसेवाको तयारी कक्षा पढ्न काठमाडौं नै जानुपर्ने बाध्यता थियो, नगरपालिकाले एकदमै राम्रो कार्यक्रम ल्याएको छ,’ तयारी कक्षा पढिरहेकी रस्मिता नेपालीले भनिन्– ‘हामी अत्यन्तै उत्साहित छौं, यो कक्षाले लोकसेवामा नाम निस्कन्छ भन्नेमा पनि आशावादी छौं ।’
नगरपालिकाले दीर्घकालीन सोच राखेर कार्यक्रम ल्याएको भन्दै तयारी कक्षामा सहभागी अर्की विद्यार्थी अस्मिता अधिकारीले खुशी व्यक्त गरिन । उनले भनिन्– ‘तयारी कक्षाले हामीलाई आशावादी र निकै उत्साहित बनाएको छ ।’