‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीबाट कुटाइ खाएकी कैलालीकी राधा चौधरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् ।
आफू न्यायका लागि क्रान्तिमा लागेको उनले बताएकी छन् । एक वर्ष अगाडि ‘भोलेबाबा’ नामका स्थानीय व्यक्तिले बोक्सीको आरोप लागाएर उनलाई सार्वजनिक ठाउँमा निर्घात कुटपिट गरेका थिए । कुसंस्कार,कुरीति तथा विभेदका विरुद्ध लडिरहेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले न्याय दिने विश्वास लागेकाले आफू नेकपामा प्रवेश गरेको उनले बताइन् ।
‘म गरिब घरकी चेली भएकाले मलाई दुर्व्यवहार गरी अवहेलना गरिएको हो, म बोक्सी होइन, मेरो गाउँमा प्रायः पढेलेखेका ‘शिक्षित’ मात्र छन् तर पनि मैले बचाऊ भन्दै रोइकराइ गर्दा समेत कसैले साथ दिएनन्, म निर्घात रूपमा कुटिँदा पनि कसैले केही बोलेनन्’– उनले भनिन् ।
‘गरिबीको दलदलमा फसेको अन्धविश्वासी समाजले मलाई हेप्यो र यस प्रकारको अमानवीय दुर्व्यवहार गर्यो, आज मलाई न्याय दिने र मजस्तै हजारौं गरिब–दुःखीहरूका पक्षमा लड्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी भेटेकी छु,’ समाजप्रति आफूलाई निकै घृणा जागेको बताउँदै उनले भनिन– ‘मलाई न्यायका लागि यो पार्टीले पहल गर्यो, म विप्लव नेतृत्वको यो पार्टीलाई लालसलाम तथा धन्यवाद टक्रयाउँछु ।’
‘नेपाल कम्युनिस्ट पार्टीले मलाई साथ देओस्, म क्रान्तिकारी भएर बाँच्न चाहन्छु,’ उनले भनिन्– ‘त्यसपछि म र मजस्ता असहायमाथि यस्ता हर्कत गर्न खोज्नेले हजार पटक सोच्नुपर्छ ।’
बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीसहित माओवादी केन्द्र परित्याग गरेका पतिराम चौधरी, किरण चौधरीसहित १३ जना एकैसाथ नेकपामा प्रवेश गरेको बताइएको छ । कार्यक्रममा प्रवेशी र सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ‘जनसकार’ प्रमुख करणले देशमा दुईवटा सत्ता सञ्चालन भएकाले जनताको सरकार र जनअदालतले समग्र जनतालाई मुक्ति तथा न्याय र निसाफ दिने दावी गरे । अन्यायपूर्ण तरिकाले लादिएको कर ‘दलाल पुँजीवादी’ सरकारलाई नतिर्न समेत उनले आग्रह गरे ।