हिमाली जिल्ला डोल्पामा बिहीबार बिहानैदेखि भारी हिमपात सुरु भएको छ ।
हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसर्इई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
‘यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधिक बढेको छ, बढ्दो चिसोका कारण एसर्इई तयारी कक्षा लिन आउने विद्यार्थीको सङ्ख्या अत्यधिक घटेको छ,’ जनप्रभा मावि लिकुका शिक्षक दीपक पराजुलीले भने– ‘बिहानैदेखि हिमपात हुन थालेपछि विद्यालयको चौरमा बाक्लो हिँउ जमेको छ, चिसोका कारण कोठाबाट बाहिर निक्लन पनि मुस्किल परेकाले आजको तयारी कक्षा समेत प्रभावित हुने पक्का भएको छ ।’
जिल्लाका जनप्रभा मावि लिकु, त्रिपुराकोट मावि मद्यु, आदर्श मावि जुफाल, सरस्वती मावि दुनैलगायतका आधा दर्जन विद्यालयमा एसर्इई तयारी कक्षा सञ्चालन भइरहेको छ । हिमपातका कारण बढेको चिसोले कोठामै बसेर पढन सकिने भए पनि हात बाहिर झिकेर लेख्न गाह्रो हुने जनप्रभा माविमा एसर्इई तयारी कक्षा लिइरहेकी छात्रा सरिता देवकोटाले बताइन् । कोठा बाहिरै बाक्लो हिउँ जमेकाले शौचालय जान समेत समस्या हुने गरेको छ भने खाना पकाउन भान्सामा जान समेत गाह्रो भएको उनको भनाइ छ ।
यसअघि तेस्रो पटकसम्म परेको हिँउ बिलाउन नपाउँदै पुनः हिमपात सुरु भएपछि डोल्पालीको जनजीवन थप कष्टकर बनेको छ भने पशुवस्तुलाई घाँसपात गर्न समेत समस्या भएको छ ।
विमानस्थल बन्द
बिहानदेखि सुरु भएको हिमपातका कारण जुफाल विमानस्थलमा बाक्लो हिँउ जमेको छ । जहाज अवतरण गर्ने हवाईमार्गमा नै बाक्लो हिँउ जमेपछि जुफाल विमानस्थल अवरुद्ध भएको हो ।
हिमपातका कारण नेपालगञ्जदेखि हुने कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार शर्माले बताए । जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या भएको छ ।
बिहानदेखि सुरु भएको हिमपात बेलुकीसम्म जारी रहे दुई–तीन दिनसम्म जुफाल विमानस्थल अवरुद्ध हुने सम्भावना रहेको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ । यसैगरी कर्णालीका जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा समेत बिहानैदेखि हिमपात सुरु भएपछि त्यहाँका विमानस्थलहरु समेत अवरुद्ध हुनुका साथै जनजीवन कष्टकर बनेको खबर राससले प्रेषित गरेको छ ।