पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ अधिकारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
क्यान्सरबाट पीडित भई उपचाररत नेकपा (क्रान्तिकारी माओवादी) का ४ नं. (गण्डकी) प्रदेश सचिव समेत रहेका अधिकारीसँग अध्यक्ष प्रचण्डले बिहीबार भेट गरेका हुन् । अध्यक्ष प्रचण्डलाई अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी गराए ।
क्यान्सरका बिरामीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिन प्रचण्डले अस्पताललाई आग्रह गरे । प्रचण्डले नेता अधिकारी तथा अस्पतालमा उपचाररत क्यान्सरका अन्य बिरामीको स्वास्थ्य अवस्थाबारे समेत विभिन्न जिज्ञासा राखे । घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शङ्का गरी पोखराले थप उपचारका लागि १९ पुसमा भरतपुर क्यान्सर अस्पताल रेफर गरेको थियो ।
अहिले अस्पतालमै उनको केमोथेरापी भइरहेको जानकारी डा. खगेन्द्र देवकोटाले दिए । नेता अधिकारी गोरखाको कम्युनिस्ट आन्दोलनका संस्थापक नेता समेत हुन् ।