newskoseli.Com

‘हेडसर’ को कुटाइबाट विद्यार्थी घाइते !

पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल भर्ना गरिएको छ ।

विद्यार्थी बस्ने बेन्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपिट गरेका थिए । तर, आफू उक्त कार्यमा संलग्न नरहेको बताएका विद्यार्थी रोहित राईलाई प्रधानाध्यापक खत्रीले थप कुटपिट गरेको अभिभावक र उनका सहपाठीको भनाइ छ ।

खत्रीले टाउकामा प्रहार गरेका कारण राई घाइते भएका छन् । उनलाई उपचारका लागि उनकै साथीहरुले पाँचथर जिल्ला अस्पतालमा भर्ना गराएका छन् । राईसँगै कक्षा ९ मा अध्ययनरत विद्यार्थी निशान सापकोटाका अनुसार सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका कारण बेन्च बाङ्गिएको थियो । यद्यपि, कक्षा ९ कै विद्यार्थीले २०–२० रुपैयाँ सङ्कलन गरी बेन्च मर्मत गराएका थिए । पाँचथरको मिक्लाजुङ गाउँपालिका– ४, रवि घर भएका राई फिदिममा डेरा गरी कक्षा ९ मा अध्ययन गर्दै आएका छन् ।

प्रधानाध्यापक खत्रीको कुटाइबाट घाइते राईले रिंगटा लागेको बताइरहेको उपचारमा संलग्न जिल्ला अस्पतालका अहेव दिपक अधिकारीले बताए । कुटपिटका कुनै निलडाम नदेखिए पनि टाउकामा असर परेको हुन सक्ने अधिकारीको भनाइ छ । ‘टाउकामा समस्या भएको भए सीटी स्क्यान गर्नुपर्छ, यसका लागि २४ घन्टा पर्खनुपर्छ,’ अधिकारीले भने– ‘हामीले दुखाइ कम गर्ने औषधि दिएका छौं ।’

यही विद्यालयमा गतवर्ष पनि एक विद्यार्थीमाथि शिक्षकबाट कुटपिट भएको थियो । आफूले प्राप्त गर्नुपर्ने अङ्कका विषयमा प्रश्न गर्दा विद्यार्थी कुटिएका थिए । यस पटक आफूले गल्ती नगरेको दाबी गर्दा प्रधानाध्यापकले मुड्कीले प्रहार गरेको सोही कक्षाका विद्यार्थीको गुनासो छ ।

गत वर्षको घटना सार्वजनिक भएपछि प्रधानाध्यापक तथा शिक्षकले घटना सार्वजनिक भएको विषयमा विद्यार्थीलाई सोधपुछ गर्नुका साथै विद्यालयबाट निकाला गरिदिने धम्की समेत दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर